काठमाडौँ, पौष २० — जेन्जी मुभमेन्ट, नेपालले सुशीला कार्कीको नेतृत्वमा गठित कथित “नागरिक सरकार” भित्र रहेका ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ। मुभमेन्टले उनीहरू खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै यसले सरकारको तथाकथित दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफूलाई नागरिक र दलनिरपेक्ष सरकारको रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई खुला रूपमा पार्टी गतिविधिमा संलग्न हुन दिएको तथ्यले यो सरकार वास्तवमा कसको हो भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको छ।”

वक्तव्यमा भाद्र २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भाद्र २४ गते सुशीला कार्कीको समूहले अपहरण गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ। शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत स्थानमा आगजनी, तोडफोड र हिंसा भएको उल्लेख गर्दै त्यसबाट मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ।

ऊर्जामन्त्री कुलमान घिसिङमाथि भारतसँग गरिएको विद्युत् सम्झौतामार्फत नेपाललाई करिब ४३ करोड रुपैयाँको घाटा पुर्‍याएको, नियमनकारी निकायको स्वीकृति बेगर कमिसनको खेलमा संलग्न भई राज्यलाई नोक्सान पुर्‍याएको गम्भीर भ्रष्टाचार आरोप पनि विज्ञप्तिमा समावेश गरिएको छ। “यो विषय केवल नीतिगत त्रुटि होइन, राज्यविरुद्धको आर्थिक अपराध हो,” वक्तव्यमा भनिएको छ।

जेन्जी मुभमेन्टले कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई कडा कानुनी कारबाही गर्न र दोषी ठहर भए कालकोठरीमा राख्न माग गरेको छ।

प्रवक्ता शाहले चेतावनी दिँदै भने, “नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य हुने छैन। कुलमान घिसिङ र गोविन्द नारायणलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध अघि बढाइनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय