
काठमाण्डौं— केही समयदेखि आपसी सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेका लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियार फेरि एकसाथ देखिएका छन्। उनीहरूको स्वरमा नयाँ गीत ‘परदेशी हुनै मन छैन’ सोमबार गीतकार भूपेन्द्र बुढाथोकी युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।
गीतकार तथा प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीको शब्द रहेको यस गीतमा संगीत ऋषि खड्काले भरेका छन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। लोकदोहोरी क्षेत्रका चर्चित यी दुई गायक-गायिकाले अघिल्लो सुपरहिट गीत ‘अरेली काँडैले’यता कुनै सहकार्य गरेका थिएनन्। स्रोतअनुसार यो गीत केही महिना पहिले नै रेकर्ड गरिएको हो।

‘फूल भनौं जिन्दगीलाई’ जस्ता भावनात्मक गीतमार्फत प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकी पछिल्ला सात वर्षमा प्रहरी अधिकृत मात्र होइन, एक उदाउँदो गीतकार र सर्जकका रूपमा पनि चिनिँदै आएका छन्। सरकारी सेवामा कार्यरत रहँदै संगीतप्रतिको लगावलाई उनले कहिल्यै कम हुन दिएनन्। उनी जागिरसँगै सपनालाई पनि जोगाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्।
“जागिर गर्दैमा सपना मर्दैनन्, बरु अझ सार्थकता पाउँछन्” भन्ने सन्देश उनका सिर्जनामा झल्किन्छ। पेसा र प्यासनलाई सँगै अघि बढाउँदै आएका बुढाथोकी युवापुस्ताका लागि प्रेरणाका स्रोत बनेका छन् । बुढाथोकीद्वारा लेखिएका गीतहरूमा गहिरो भावना, सामाजिक यथार्थ र जीवन दर्शन झल्किन्छ, जसले श्रोता-दर्शकको मन जित्न थालेको छ।
गीतको म्युजिक भिडियोमा ललना चिमरिया र द्रोण थापा मगर फिचर्ड छन्। भिडिओको कथा तथा निर्देशन मौसम हिमालीको रहेको छ भने छायांकन बुद्ध थापा र सम्पादन मनोज कार्कीले गरेका छन्।
यो सहकार्यले कलाकारहरूबीचको दूरी मेटिँदै गएको संकेत गरे पनि दर्शकहरूले गीतलाई कत्तिको मन पराउने भन्ने कुरा भने समयले बताउनेछ।



