मेरो देशको माटोमा सपनाको सुगन्ध छ,

हिमालको शिरमा साहसको अनुपम छन्द छ।

मेचीदेखि महाकालीसम्म एउटै स्वर गुञ्जन्छ,

नेपालीको आत्माभित्र राष्ट्रप्रेम नै धड्कन्छ।

मेरो रगतमा देश छ, मेरो श्वासमा नेपाल,

कर्तव्यको बाटो हिँड्दै लेख्छु नयाँ मिसाल।

आँधी आए, चुनौती आए, पाइलाहरू रोकिँदैनन्,

सत्य र न्यायका दीपहरू कहिल्यै निभ्दैनन्।

जनताको विश्वास मेरो सबैभन्दा ठूलो पदक हो,

सेवाभावको दर्शन मेरो जीवनको अभिप्राय हो।

अनुशासन, संवेदनशीलता र नैतिकताको आलोकमा,

म राष्ट्रसेवाको यात्रामा अडिग छु हर मोडमा।

हिमाल, पहाड र तराई एउटै अस्तित्वका प्रतीक हुन्,

विविधताभित्रको एकता हाम्रो सभ्यताको मधुर संगीत हो।

जात, भाषा र संस्कृति फरक भए पनि,

नेपालप्रतिको प्रेमले हामी सबैलाई एक सूत्रमा बाँधेको छ।

अन्यायको अँध्यारो देख्दा आवाज उठाउँछु,

पीडितका आँसु पुछ्न सधैँ अघि बढ्छु।

शान्ति, सुरक्षा र सद्भावको सन्देश बोकेर,

जनजनको भरोसा बन्दै मुस्कान छर्छु।

देशभक्ति मेरो शक्ति हो, कर्तव्य मेरो पहिचान।

साहस मेरो आभूषण हो, सेवा मेरो स्वाभिमान।

प्रहरीनी मात्र होइन, राष्ट्रको एक जिम्मेवार स्वर हुँ,

“जय नेपाल” भन्दै सधैँ देश र जनताको पक्षमा उभिने प्रतिज्ञाबद्ध नारी हुँ। 🇳🇵

लेखक ः निकिता मिश्र नेपाल प्रहरीमा कार्यरत प्रहरी निरिक्षक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय