
काठमाण्डौं— गायिका ज्योति मगर बेला–बेला विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गर्छिन्। यस्तै, शुक्रबार उनले पत्रकार प्रकाश सुवेदीलाई लक्षित गर्दै फेसबुकमा लामो स्टाटस लेखेकी छिन्, जसले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।
ज्योतिले सुवेदीमाथि आफ्नो बारेमा सधैं नकारात्मक टिप्पणी गर्ने आरोप लगाउँदै लेखेकी छिन्, “आफ्नो फेरि पोज हान्ने कलाकारहरूलाई र खोक्रो आदर्श बोक्ने व्यक्तिलाई ऐना देखाइदिने बानी छ। प्रकाश सुवेदी दाइले जहिले मलाई नकारात्मक टिप्पणी नै गर्नुहुन्छ।”

उनले आफू ‘रोल्पा जिल्लाको डाँडापाखाको पाखे’ भएको बताउँदै, “ज्योति मगर गलत नै हो भन्ने सोच भएका पाखण्डी पाखेहरूलाई म कुन भाषामा गाली गरूँ?” भनेर आक्रोश पोखेकी छन्। साथै, कलाकारलाई पत्रकारले हेप्दा झन् बलियो बन्ने तर्क राख्दै, “शेर एक्लै आउँछ” भन्ने भनाइ उल्लेख गरेकी छिन्।
यता, पत्रकार प्रकाश सुवेदीले हालै सार्वजनिक एक टेलिभिजन कार्यक्रममा ज्योति मगरलाई सामाजिक सञ्जालमा लेख्दा विचार गर्नुपर्ने सुझाव दिएका थिए। उनले गायिका समीक्षा अधिकारीमाथि ज्योतिले गरेको टिप्पणीको आलोचना गर्दै भनेका थिए, “बरिष्ठ गायिकाले कनिष्ठ गायिकालाई माथि तान्नुपर्ने बेलामा उल्टै निकृष्ट शब्द प्रयोग गर्दै गाली गर्नु ज्योति मगरलाई सुहाउने कुरा होइन।”
सुवेदीले समीक्षाको स्वरको तारिफ गर्दै, “हो, समीक्षा अधिकारी स्टेज भाँच्नेगरी नाच्न सक्दिनन्, तर उनको स्वरमा जादू छ,” भनेका थिए।
ज्योति मगर र प्रकाश सुवेदीबीचको यो वाकयुद्ध अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।



