
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
बुधबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुरुङभित्रको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण उद्धार कार्य कठिन बनेको बताए। बाढीसँगै आएको लेदो र माटोले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारमा चुनौती थपिएको उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार सुरुङभित्र जमेको लेदोमा उद्धार उपकरण सञ्चालन गर्नसमेत कठिन छ। स्काभेटर अडिन नसक्ने र हेलिकप्टरबाट समेत सहज रूपमा उद्धार गर्न सकिने अवस्था नरहेको उनले बताए।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जनाउँदै उनले भारत, चीन र कोरियाका प्राविधिक विज्ञसँग पनि समन्वय भइरहेको जानकारी दिए। मौसम र सुरुङभित्रको अवस्था अनुकूल भएपछि सुरक्षित रूपमा प्रवेश गरेर उद्धार अघि बढाउने तयारी रहेको उनले बताए।
उद्धारमा भइरहेको ढिलाइप्रति जनस्तरमा उठेका प्रश्नबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा खटिएका सुरक्षाकर्मी र प्राविधिकलाई हतोत्साहित नगरी सहयोग गर्न आग्रह गरे।
बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरका ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन जलविद्युत आयोजना प्रभावित भएको पनि उनले बताए। सञ्चालनमा रहेका आयोजनामा २८१ मेगावाट र निर्माणाधीन आयोजनामा ३८८ मेगावाट क्षति पुगेको प्रधानमन्त्रीको भनाइ छ।
त्यस्तै, बाढीका कारण ४ हजार ३१.१ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको उनले जानकारी दिए। नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापित भइसकेको प्रधानमन्त्रीले संसद्लाई बताए।




