
काठमाडौँ। देशका विभिन्न भागमा लागूऔषध ओसारपसार र बिक्री-वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चलाएको ‘स्विप अपरेसन’का क्रममा १६ जना पक्राउ परेका छन्। मङ्गलवार एकै दिन उपत्यकासहित विभिन्न ९ जिल्लाबाट भारतीय नागरिकसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सञ्चालित अपरेसनमा प्रहरीले गाँजा, ब्राउनसुगर, खैरो हेरोइन तथा प्रतिबन्धित औषधीजन्य एम्पुल र ट्याब्लेट बरामद गरेको छ।

कहाँ कति र के-के बरामद भयो?
ब्राउनसुगर र खैरो हेरोइन:
सप्तरी: सुरुङ्गाबाट ५ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित अस्मिन कार्की (३७)।
सुर्खेत: वीरेन्द्रनगरबाट ५ ग्राम ४४० मिलिग्राम ब्राउनसुगरसहित तपेन्द्र हमाल (१९) सहित २ जना।
कपिलवस्तु: कृष्णनगरबाट १ ग्राम ६३० मिलिग्राम खैरो हेरोइनसहित रन्जित प्रसाद मौर्या (२६)।
कैलाली: धनगढीबाट १ ग्राम ८ मिलिग्राम ब्राउनसुगरसहित भारतीय नागरिक सलमान खान (२४) सहित ३ जना।
कञ्चनपुर: शुक्लाफाँटामा स्कुटर (सु.प.प्र.०१-०१३ प ०७७९) जाँच गर्दा ९६० मिलिग्राम खैरो हेरोइनसहित हेम राज जोशी र रविन्द्र नेगी।
दाङ र झापा: दाङबाट ५९० मिलिग्राम र झापाबाट २१० मिलिग्राम ब्राउनसुगरसहित २ जना।
गाँजा:
बारा: जीतपुर सिमराबाट २ किलो ७५४ ग्राम गाँजासहित दिवेन्द्र बैठा (३७)।
काठमाडौँ: काँडाघारी/बालुवाखानीबाट ९ सय ग्राम गाँजासहित एन्जिला तामाङ (१९)।
नियन्त्रित ट्याब्लेट तथा औषधी (एम्पुल):
तनहुँ: व्यास नगरपालिकामा सागर गिरी (२४) र अनिष क्षेत्री (२५) को घरबाट ६ एम्पुल नोर्फिन, ३ एम्पुल डाइजेपाम, २ एम्पुल फेनारगन र ६३ ट्याब्लेट नाइट्राजेपाम बरामद।
भक्तपुर: चाँगुनारायणबाट ४६ ट्याब्लेट ट्रामाडोलसहित सरोज महरा (२०)।
प्रहरीको भनाइ: पक्राउ परेका सबैजनामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।




