दुबई । भारतको मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबिच संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा विशेष शिष्टाचार भेटवार्ता भएको छ । मध्यप्रदेशमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्यप्रदेश’ अन्तरक्रियात्मक कार्यक्रमका क्रममा उनीहरूबिच भेट भएको हो ।

समारोहका प्रमुख अतिथि मुख्यमन्त्री यादवको विशेष निमन्त्रणामा विशिष्ट अतिथिका रूपमा कूटनीतिक विज्ञ रिजवान सहभागी भएका थिए । युएईमा रहेर मध्यपूर्वका देशहरूको भूराजनीतिक गतिविधिमा पुर्‍याएको योगदानको कदर गर्दै मुख्यमन्त्री यादवले उनलाई उच्च तहको सरकारी आमन्त्रण पठाएका हुन् । प्रवासमा रहेर भारतीय उच्च अधिकारीबाट सरकारी स्तरमै आमन्त्रण पाउने रिजवान विशिष्ट व्यक्ति हुन् । मुख्यमन्त्री यादव र रिजवानबिच युएईमा भएको यो दोस्रो उच्चस्तरीय भेट हो ।

नेपालको बाढी र जलवायु संकटको मुद्दा उठ्यो

नेपालको सुनसरी घर भई दक्षिण एसिया, भारत र अरब क्षेत्रको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय रिजवानले कार्यक्रममा नेपालले भोग्नुपरेको बाढीपहिरोको पीडा र जलवायु परिवर्तनको असरबारे जोडदार आवाज उठाएका थिए ।

जलवायु परिवर्तनको मारमा नेपाल सबैभन्दा बढी परेको उल्लेख गर्दै उनले यो समस्याको असर विश्वव्यापी रहेकाले समाधानका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकै ठाउँमा आउनुपर्ने र नेपाललाई सहयोग गर्नुपर्ने धारणा राखे ।

मध्यप्रदेशमा लगानीको आह्वान

समारोहमा भारतको हालैको आर्थिक वृद्धि, नीतिगत सुधार, विश्वस्तरीय पूर्वाधार, नवप्रवर्तन र दिगो विकासका विषयमा वृहत् छलफल भएको थियो ।

सो क्रममा मुख्यमन्त्री यादवले भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले विश्वभरका लगानीकर्तालाई दीर्घकालीन व्यावसायिक साझेदारीको ठुलो अवसर दिएको बताए । प्रचुर प्राकृतिक स्रोत-साधन, दक्ष जनशक्ति, उत्कृष्ट पूर्वाधार र प्रगतिशील नीतिका कारण मध्यप्रदेश वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय