
काठमाडौं । सिन्धुपाल्चोकबाट स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रा युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीले भोटेकोसी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय उजियानदोजी रहेका छन्।
इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त टोलीले कोदारीबाट काठमाडौं आउँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा ६६ हजार ९५० चिनियाँ युआन फेला पारेको थियो। उक्त रकम नेपाली रुपैयाँअनुसार १६ लाख ६ हजार ८०० बराबर रहेको प्रहरीले जनाएको छ।
गाडीको बीचको सिटमा सवार सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा रकम बरामद भएको हो।
घटनापछि दुवै चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ। स्कारपियोका चालक भोटेकोसी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने प्रारम्भिक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ।
बरामद रकमको स्रोत र त्यसको प्रयोजनबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।





