काठमाडौं । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १४ जना कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई अनुपस्थित हुनुको चित्तबुझ्दो कारणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो।

कार्यालयको सम्पर्कमा नरहेका प्रहरी कर्मचारीमा एक जना प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक जना प्रहरी सहायक निरीक्षक (असई), दुई जना प्रहरी हवल्दार र १० जना प्रहरी जवान रहेका छन्।

प्रहरी प्रधान कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) तथा नियम १०९ को देहाय (ख) बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

गैरहाजिर रहेका कर्मचारीलाई आफ्नो अनुपस्थितिको मनासिब कारण खुलाउने अवसरसहित अन्तिम पटक सात दिनको समय दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय