
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घर निर्माणको स्वीकृति, नक्सा पास तथा निर्माणसम्बन्धी विभिन्न काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी इन्जिनियर कार्कीले भवनको संरचनागत विश्लेषण स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।
सेवाग्राहीको उजुरीपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कार्की र घुस रकम लिन मध्यस्थकर्ताको भूमिका खेलेकी आस्मा कार्कीलाई ६४ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा इन्जिनियर कार्कीले आस्मा कार्की र आशिष पौडेलसँग मिलेमतो गरी सेवाग्राहीबाट कुल २ लाख ८ हजार रुपैयाँ घुस लिएको खुलेको अख्तियारको दाबी छ। घर निर्माणको सिफारिस, नक्सा पास, अस्थायी निर्माण इजाजत तथा निर्माण सम्पन्न प्रमाणपत्रलगायतका काममा सहजीकरण गर्ने भन्दै उक्त रकम लिइएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पदीय जिम्मेवारीको दुरुपयोग गरी घुस लिने कार्यमा संलग्न इन्जिनियर कार्कीसहित तीनै जनाविरुद्ध बिगो, जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।
आयोगले इन्जिनियर कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम बिगो बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ।
त्यस्तै, मुख्य कसुरदारलाई गैरकानुनी लाभ लिन सहयोग गरेको आरोपमा आस्मा कार्की र आशिष पौडेललाई पनि प्रतिवादी बनाइएको छ। आस्माविरुद्ध २ लाख ८ हजार रुपैयाँ र पौडेलविरुद्ध १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह कैद तथा जरिवानाको मागदाबी गरिएको अख्तियारले जनाएको छ।





