
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रमुखको जिम्मेवारी सम्हाल्न हालै जिल्लामा पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) कमल बजगाईंलाई पाथीभरा क्षेत्र विकास समितिले स्वागत गरेको छ।
समितिले आयोजना गरेको स्वागत कार्यक्रममा समितिका सदस्य पृथ्वीमान पालुङवा, कार्यकारी निर्देशक प्रजिन हाङबाङसहित कर्मचारीहरूले डीएसपी बजगाईंलाई स्वागत गरेका हुन्।

स्वागत कार्यक्रमका क्रममा पाथीभरा क्षेत्रको शान्ति–सुरक्षा, पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थापन तथा समसामयिक सुरक्षा विषयमा अनौपचारिक छलफलसमेत भएको समितिले जनाएको छ।
ताप्लेजुङको सुरक्षा व्यवस्थापनका दृष्टिले महत्वपूर्ण मानिने पाथीभरा क्षेत्रमा तीर्थयात्री तथा पर्यटकको आवागमन बढ्ने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
प्रहरी सेवामा व्यावसायिकता, जिम्मेवारीबोध र कार्यक्षमताका लागि परिचित डीएसपी बजगाईंले जिल्लाको शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।




