काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा गरेको टिप्पणीप्रति नेपाल प्रहरीका पूर्वप्रहरी संगठन प्रमुखहरूको मञ्चले आपत्ति जनाएको छ।

मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी र यसको नेतृत्वमाथि तथ्यहीन, अपमानजनक तथा व्यक्तिकेन्द्रित टिप्पणी गर्नु उचित नभएको जनाएको हो। अध्यक्ष मोतिलाल बोहराद्वारा जारी विज्ञप्तिमा जनताको सुरक्षामा खटिने प्रहरी संगठनको नेतृत्वमाथि पूर्वाग्रही ढंगले नकारात्मक भाष्य निर्माण गर्ने प्रयासप्रति खेद व्यक्त गरिएको छ।

सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरी पोसाक खरिदमा अनियमितताको आशंका जनाउँदै आईजीपीलाई पदबाट हटाएर छानबिन गर्नुपर्ने धारणा राखेका थिए। उनले आईजीपीको घरबाट तीन करोड रुपैयाँ चोरी भएको विषयसमेत उठाएका थिए। उक्त अभिव्यक्तिले आफ्नो मानमर्दन भएको भन्दै आईजीपी कार्कीले बैठकमै असन्तुष्टि जनाएका थिए।

पूर्वप्रहरी प्रमुखहरूको मञ्चले संसदीय समितिमा सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने र निर्मम बहस गर्ने अधिकारलाई सम्मान गरेको जनाएको छ। तर, प्रश्न उठाउने क्रममा सुरक्षा निकाय र त्यसको नेतृत्वमाथि प्रमाणबिनाका तथा अपमानजनक अभिव्यक्ति दिन नहुने उसको भनाइ छ।

मञ्चले सांसद सुनारलाई आफ्नो भाषाशैली र व्यवहारमा सुधार गर्दै पदीय जिम्मेवारी तथा संसदीय मर्यादाको गम्भीरतालाई ध्यान दिन आग्रह गरेको छ। यस्ता अभिव्यक्तिले प्रहरी संगठनको मनोबलसँगै संसदीय व्यवस्थाको गरिमामाथि समेत नकारात्मक असर पार्न सक्ने मञ्चको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय