काठमाडौँ । धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले स्थानीय व्यापारी तथा सर्वसाधारणलाई दादागिरी शैलीमा दुःख दिन थालेको आरोप लागेको छ । सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण हटाउने नाममा मेयर महतोले व्यापारीमाथि बल प्रयोग र दबाबको राजनीति गरिरहेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढ्दै गएको बताइएको छ।

यसअघि पनि विवादास्पद गतिविधिका कारण पार्टीबाट कारबाही भोगेका महतो पुनः स्थानीय व्यापारीलाई निशाना बनाउन थालेको आरोप लागेको हो। संघ तथा प्रदेश सरकारले व्यापारीलाई अनावश्यक दुःख नदिन निर्देशन दिँदै आएको अवस्थामा स्थानीय सरकारको शक्तिको दुरुपयोग गर्दै व्यापारीमाथि दबाब सिर्जना गरिएको सूचना प्राप्त भएको छ।

धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित कोमल होटलका सञ्चालक प्रमोद साहले मेयर महतोले आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। उनका अनुसार बुधबारदेखि लगातार बल प्रयोग गर्दै होटलमा जबर्जस्ती डोजर लगाएर तोडफोड गर्ने प्रयास भइरहेको छ।

सञ्चालक साहका अनुसार आफ्नो निजी नम्बरी जग्गा कि.नं. ६३३ र ६८१ मा नक्सा पास गरी निर्माण गरिएको पाँचतल्ले होटलमा सडक तथा नाला निर्माणको नाममा मिथिला नगरपालिका र सडक डिभिजन कार्यालयले डोजर चलाउन खोजेको हो।

यस विषयमा जग्गाधनी देवनारायण साह सुडी र कोमल कुमारी देवी उच्च अदालत पुगेका थिए। सो निवेदनमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले विपक्षीहरूको नाममा निषेधाज्ञा जारी गरेको छ।

अदालतले सम्पत्ति सम्बन्धी अधिकार नागरिकको मौलिक अधिकारसँग जोडिएको उल्लेख गर्दै कानुनी प्रक्रिया र उचित क्षतिपूर्ति विना निजी सम्पत्तिमा हस्तक्षेप गर्न नमिल्ने स्पष्ट आदेश दिएको छ। साथै सार्वजनिक संरचना निर्माण गर्दा सम्भव भएसम्म निजी जग्गामा असर नपर्ने गरी काम गर्नुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।

अदालतले बाटोको मध्यविन्दुबाट दुवैतर्फ बराबरी रूपमा जग्गा लिएर मात्रै नाला निर्माण गर्न सकिने, अन्यथा एकतर्फी रूपमा निवेदकको जग्गामा मात्र काम गर्न नपाइने आदेश दिएको छ। मिथिला नगरपालिका, नगर प्रमुख महेन्द्र महतो, प्रमुख प्रशासकीय अधिकृत, सडक डिभिजन कार्यालय धनुषा–मुजेलिया तथा सम्बन्धित कार्यालयका प्रमुखहरूको नाममा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा हुँदाहुँदै पनि तोडफोडको प्रयास जारी रहे अदालतको अवहेलना मुद्दा दायर गर्न बाध्य हुने सञ्चालक साहले चेतावनी दिएका छन्।

उनले भने, “हामीमाथि शक्ति प्रदर्शन भइरहेको छ। यो मेरो मात्र समस्या होइन, यहाँ धेरै स्थानीय व्यापारी पीडित छन्। कानुनी राज्यमा अदालतको आदेशसमेत नमान्ने प्रवृत्ति कसैका लागि पनि उचित होइन।”

साहका अनुसार अदालतको आदेशपछि स्थानीयसँग छलफल गरेर समाधान खोज्नुपर्ने भए पनि मेयर महतो त्यसतर्फ सकारात्मक नदेखिएको आरोप छ।

यस घटनाको विरोधमा स्थानीयवासीले मेयरको घरसमेत घेराउ गरेको बताइएको छ। पछि स्थानीय प्रहरी प्रशासनको सहयोगमा अवस्था सामान्य बनाइएको स्रोतले जनाएको छ।

यता, यस विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर महतोले आफूले कसैको निजी जग्गा वा होटलमा डोजर नचलाएको दाबी गरेका छन्। अदालतको आदेशविपरीत कुनै काम नगरेको बताउँदै उनले फोन संवादमा “समाचार लेख्नुहुन्छ भने अझ मलजल गरेर लेख्नुहोला, जय होस्” भन्दै प्रतिक्रिया दिएका थिए।

दादागिरी शैलीमा स्थानीयलाई दुःख दिने, कमिसन बिना काम नगर्ने तथा क्रसर उद्योगीसँगको निकट सम्बन्धका कारण मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो पुनः विवादमा तानिएका छन्। स्थानीय स्रोतका अनुसार उनी विगतमा “टोले गुण्डा”को रूपमा चिनिने व्यक्ति थिए भने काठमाडौंमा सार्वजनिक अपराध सम्बन्धी मुद्दासमेत खेपेका थिए। महानगर प्रहरीमा कार्यरत रहँदा होर्डिङ बोर्ड व्यवसायी तथा कालीमाटी क्षेत्रबाट रकम असुली गरेको आरोप पनि उनीमाथि लागेको थियो।

स्थानीयले मेयर महतोले आफूलाई शक्तिशाली पहुँच भएको व्यक्ति भन्दै धम्की दिने, नगरपालिकाका काममा कमिसन अनिवार्य गर्ने तथा विरोध गर्नेलाई दबाबमा पार्ने गरेको आरोप लगाएका छन्। अवैध नदी उत्खनन तथा क्रसर उद्योगीसँग उनको निकट सम्बन्ध रहेको दाबी समेत गरिएको छ। स्थानीयका अनुसार चुनावमा पनि क्रसर व्यवसायीहरूको आर्थिक सहयोग रहेको थियो।

नगरपालिकामा आफन्तवाद मौलाएको, आफ्ना निकट व्यक्तिलाई मात्रै जागिर दिइएको तथा विकास योजनादेखि सिफारिससम्म पैसा बिना काम नहुने गुनासो स्थानीयले गरेका छन्। निर्वाचनका बेला मतदातालाई चामल वितरण गरेर आचारसंहिता उल्लंघन गरेको आरोप पनि उनीमाथि लागेको थियो।

उनको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा कांग्रेस क्षेत्रीय समितिले समेत अनुशासनविपरीत गतिविधि गरेको भन्दै उनलाई ६ वर्षका लागि निष्कासन सिफारिस गरेको थियो। यता, जेन्जी आन्दोलनकर्ताले उनको घरमा आगजनी गरेको घटना पनि चर्चामा आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय