कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्।

गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ, अनुशासित र सक्षम प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएकी उनले अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकसँगको प्रहरी सम्बन्धलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछिन्।

पिपरा प्रहरी कार्यालयको नेतृत्वमा उनि  पुग्नु आफैंमा महत्वपूर्ण मानिएको छ। यसअघि उक्त कार्यालयको नेतृत्व प्रहरी निरीक्षक अर्जुन पौडेलले गर्दै आएका थिए। पौडेल केही समयका लागि तालिममा सहभागी हुन विदेश जाने भएपछि उनको स्थानमा कार्कीलाई जिम्मेवारी दिने निर्णय गरिएको हो।

कार्कीको आगमनसँगै कार्यालयको सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। विशेषगरी महिला तथा बालबालिकासँग सम्बन्धित घटनाको संवेदनशील व्यवस्थापन, पीडितमैत्री प्रहरी सेवा तथा समुदायसँगको सहकार्यमा नयाँ नेतृत्वले प्राथमिकता दिने अपेक्षा गरिएको छ।

कार्की यसअघि प्रहरी प्रधान कार्यालयको सर्वेक्षण शाखामा कार्यरत थिइन्। प्रहरी प्रधान कार्यालयमा रहँदा उनले विभिन्न प्रशासनिक तथा जिम्मेवारीसम्बन्धी कामको अनुभव हासिल गरेकी छन्। त्यसअघि पनि प्रहरी सेवाका क्रममा उनले विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यक्षमता प्रस्तुत गर्दै आएकी छन्।

पिपरा क्षेत्र भौगोलिक तथा सामाजिक रूपमा संवेदनशील क्षेत्रका रूपमा समेत चिनिन्छ। खुला सीमाका कारण हुनसक्ने अवैध गतिविधि, लागुऔषध कारोबार, चोरी–तस्करी, घरेलु हिंसा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नु नयाँ नेतृत्वका प्रमुख चुनौती हुनेछन्।

त्यससँगै स्थानीय समुदायसँगको समन्वय, नागरिकका गुनासा सुन्ने प्रभावकारी संयन्त्र निर्माण तथा प्रहरीप्रतिको विश्वास थप मजबुत बनाउनु पनि कार्कीका लागि महत्वपूर्ण जिम्मेवारी हुनेछ।

यस प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नुलाई उनको नेतृत्व क्षमता र जिम्मेवारी विस्तारका दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ। कार्कीको नेतृत्वमा पिपरा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्दै अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय