काठमाडौँ — कैलालीस्थित पूर्व–पश्चिम राजमार्गमा प्रभावकारी ट्राफिक व्यवस्थापन नहुँदा सवारी दुर्घटनाका घटना बढ्दै गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खनालले दिउँसो तीव्र गतिमा चलाइने सवारीसाधन र राति छाडा चौपायाका कारण दुर्घटना हुने गरेको बताए।

उनले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट निरन्तर मानिसको मृत्यु भइरहेको भन्दै सम्बन्धित निकायले ट्राफिक व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने बताए।

‘बिहान स्कुल पढ्न जाँदा, दिउँसो रोजगारीमा जाँदा सवारीसाधनको तीव्र गतिका कारण सडक दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘राति छाडा चौपायाका कारण दुर्घटना हुने र मानिसको ज्यान जाने अवस्था छ। ट्राफिक व्यवस्थापन नहुँदा मानिसको मृत्यु भइरहेको छ।’

सांसद खनालले दुर्घटनाका पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने मागसमेत गरे।

उनका अनुसार बिहीबार मात्रै कैलालीको लम्कीचुहा नगरपालिकाकी १२ वर्षीया स्वस्तिका न्यौपानेको हाइसको ठक्करबाट मृत्यु भएको थियो। उनले यस्ता दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा प्रभावकारी ट्राफिक व्यवस्थापन, सवारीसाधनको गति नियन्त्रण तथा छाडा चौपाया व्यवस्थापनमा तत्काल ध्यान दिन सरकारसँग आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय