काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मा आइतबार समिक्षात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । पत्रकार सम्मेलनमार्फत कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म सम्पन्न भएका कार्यहरूको समिक्षा सार्वजनिक गरेको हो ।

कार्यक्रममा कार्यालय प्रमुख नवराज अधिकारी ले उपस्थित सञ्चारकर्मीलाई स्वागत गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने दिशामा कार्यालयले विभिन्न सुधारात्मक काम अघि बढाएको जानकारी दिनुभयो ।

कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदी ले प्रस्तुत गरेको विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३ लाख ७३ हजार ५६२ जना चालक कारबाहीमा परेका छन् । एउटै कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परेका ३१ जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग, मिनभवन पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी कार्यालयले प्रविधिको उच्चतम प्रयोग गर्दै CCTV Camera र ANPR प्रणालीमार्फत अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । साथै ‘Faceless Traffic Management’ को परीक्षण कार्यसमेत सुरु गरिएको र आगामी दिनमा ट्राफिक प्रहरीको भौतिक उपस्थितिलाई क्रमशः कम गर्दै जाने रणनीति रहेको बताइएको छ ।

त्यस्तै, अनलाइन कारबाही प्रणाली, ‘No Horn’ अभियान तथा ट्राफिक व्यवस्थापन सुधारसँग सम्बन्धित अन्य रचनात्मक कार्यक्रमहरू पनि सञ्चालन भइरहेको जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौं उपत्यकामा ४ हजार ६३१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १७४ जनाको मृत्यु भएको छ भने १८६ जना गम्भीर र ४ हजार ९२७ जना सामान्य घाइते भएका छन् ।

यसैबीच, सवारी चालक, सहचालक तथा सडक प्रयोगकर्ताको व्यवहार सुधार र ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम तथा विशेष अभिमुखीकरण अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा एसएसपी नवराज अधिकारी ले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने दिशामा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय