
काठमाडौँ, २९ माघ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष, सक्षम र अनुशासित प्रहरी जनशक्ति उत्पादनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण तथा प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गरे।

उनले प्रहरी संगठनको आधारशीला नै अनुशासन र तालिम भएको स्पष्ट पार्दै विगत सात दशकदेखि सो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले दिएको योगदान स्मरणीय रहेको बताए।
बदलिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकास तथा अपराधका नयाँ–नयाँ स्वरूपलाई मध्यनजर गर्दै तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गरिएको समयसापेक्ष परिमार्जन सराहनीय रहेको उनको भनाइ थियो। प्रहरी तालिमको प्रभावकारिता अभिवृद्धिसँगै प्रहरी सेवाप्रति जनविश्वास बढाउन गुणस्तरीय तालिम अपरिहार्य रहेको उल्लेख गर्दै उनले अनुशासन र सेवाभावलाई प्रहरीको उदाहरणीय पहिचानका रूपमा स्थापित गर्न प्रतिष्ठानको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले प्रतिष्ठानको गरिमा, विशिष्टता र व्यावसायिकतालाई अक्षुण्य राख्न प्रतिष्ठान परिवार सधैं प्रतिबद्ध रहेको बताए।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रशिक्षणलगायत विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका अवकाश प्राप्त प्रहरी निरीक्षक ठागाप्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे। त्यस्तै, प्रशिक्षण गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पु¥याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय, भरतपुर (चितवन)का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ शिल्डसहित प्रशंसापत्र प्रदान गरिएको थियो।
यसै क्रममा प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’को लोकार्पण समेत गरिएको थियो।



