
सुरक्षा सरोकार। नेपाल प्रहरीका सयौं जवान र अधिकृतहरू हाल संगठनको सम्पर्कबाहिर छन्। जेनजी आन्दोलनको दोस्रो दिन, देशभरका प्रहरी चौकीमा परेका नृशंस आक्रमणपछि ज्यान जोगाउन भागेका र मरणासन्न अवस्थामा पुगेका प्रहरीको मनोबल प्रायः समाप्त भएको छ।
लाउने लुगा समेत फालेपछि अर्धनग्न अवस्थामा सडक, खोला र गल्लीबाट भागेका प्रहरी स्थानीयको सहयोगमा एक छाक खान र जीवन जोगाउने प्रयासमा छन्। प्रहरीहरूले सामाजिक सञ्जालमार्फत आफू प्रहरी भएकोमा घृणा गर्नेहरूले अनफ्रेन्ड वा ब्लक गर्न अनुरोध गरेका छन्। उनीहरूले आफ्नो मनको पीडा पोख्दै, कर्तव्य पालना मात्रै गरेको र प्रहरीबिना समाजको कल्पना गर्न नसकिने धारणा राखेका छन्।

एक प्रहरी अधिकृतले भने:
“प्रहरीलाई कमजोर बनाउनु, हतोत्साहित गर्नु भनेको समाज र राष्ट्र असुरक्षित बनाउनु हो। भावनामा बहकिएर विवेकहीन हुने काम गर्नु, कर्तव्यपालनको क्रममा शहादत दिने प्रहरीप्रति बेइज्जती गर्नु स्वीकार्य छैन। हामीले आदेश पालना गर्दै देश र जनताको सुरक्षा गरेका थियौँ।”
जेनजी आन्दोलनका नाममा भएको हिंसामा कार्यालय, चौकी जलेर खरानी भए, महत्त्वपूर्ण कागजात नष्ट भए र हिरासतमा रहेका अपराधीहरू छुटेका छन्। यस क्रममा केही प्रहरी अर्धनग्न बनाएर कुटपिट गरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ।
“प्रहरीले १ घण्टा ड्युटी छाड्यो भने देश रहँदैन।” वास्तविकता आज यही हो। एक घण्टा प्रहरीले पछि हट्दा समाजमा अपराधीको मनोबल बढ्छ र नागरिक असुरक्षित हुन्छन्। प्रहरी राज्यको मेरुदण्ड हुन्, जसले जनताको सुरक्षा र कानुनी शासन कायम राख्छन्।
तर विडम्बना, प्रहरीलाई उल्टै आतंककारी ठहर्याउने प्रवृत्ति बढ्दो छ। प्रहरीको जीवनको ग्यारेन्टी छैन, अपमान र उपहास प्रहरीको परिचय जस्तो बनाइएको छ। अधिकार बिना मात्र कर्तव्य र जिम्मेवारी थोपारिएको छ।
प्रहरी संस्थाको महत्व
• न्यायमा पहुँच: प्रहरी बलियो हुँदा नागरिकले कानुनमा विश्वास गर्छन्।
• शान्ति र स्थायित्व: समाजमा शान्ति कायम राख्न प्रहरी पहिलो ढाल हुन्।
• संकटकालीन सहयोग: प्राकृतिक प्रकोप, दुर्घटना वा विपद् व्यवस्थापनमा प्रहरी अग्रपंक्तिमा हुन्छ।
• राज्यको प्रतिनिधि: सडकमा ट्राफिक नियमनदेखि अपराध अनुसन्धानसम्म प्रहरी राज्यको प्रत्यक्ष अनुहार हुन्।
प्रहरी कमजोर भए नागरिकको सुरक्षाभाव हराउँछ, कानुनको शासन धराशायी हुन्छ र लोकतन्त्र असुरक्षित हुन्छ।
अबको आवश्यकता
प्रहरीलाई केवल ड्युटीमा खटाएर मात्र काम सकिँदैन। आवश्यक छ:
• जीवन र सुरक्षाको ग्यारेन्टी,
• स्पष्ट अधिकार, जिम्मेवारी र कर्तव्यको तोकाइ,
• इज्जत र सम्मानका साथ काम गर्ने वातावरण,
• राजनीतिक हस्तक्षेपबाट मुक्त संस्था।
प्रहरी कुनै व्यक्ति मात्र होइन, यो राज्यको अभिन्न अङ्ग हो। प्रहरी बलियो हुँदा सुशासन र कानुनी राज्य बलियो हुन्छ। प्रहरी कमजोर हुँदा अपराधीको शासन सुरु हुन्छ र समाज अपराधीको खेलमैदानमा परिणत हुन्छ।
अब प्रहरीलाई बलियो, सम्मानित र सुरक्षित बनाउन राज्य र समाज दुवैले गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ। प्रहरी बलियो हुनु भनेको नागरिक र राष्ट्र दुवै बलियो हुनु हो।