रुपन्देही । हाटबजारको भीडभाडको फाइदा उठाउँदै सर्वसाधारणले लगाएका सुनका गरगहना लुट्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। शुद्धोधन गाउँपालिका–४ स्थित हाटबजारमा एक व्यक्तिको घाँटीबाट करिब दुई तोलाको सुनको सिक्री थुतेर फरार भएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार २०८३ साउन ९ गते भीडभाडको मौका छोपी पीडितको घाँटीबाट सुनको सिक्री लुटिएको थियो। घटनापछि तत्काल अनुसन्धान थालेको प्रहरीले लुटपाटमा सवारीसाधन प्रयोग गर्ने संगठित गिरोह संलग्न रहेको खुलेको जनाएको छ।

प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमान्डमा खटिएको टोलीले रुपन्देहीका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। घटनामा प्रयोग भएको बा.१९च ४३७७ नम्बरको स्कारपियो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ का ३१ वर्षीय अकलेश बृजवासी, पर्साको वीरगञ्ज महानगरपालिका–२० का २८ वर्षीय राजन राय, वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय अमन राय, वीरगञ्ज महानगरपालिका–१६ कै एक जना किशोर (सांकेतिक नाम ‘भैरहवा–१ (२०८३/०८४)’) तथा भारतको बिहार राज्य, मोतिपुर जिल्ला, रामगणवा थाना घर भएका ४० वर्षीय मोहम्मद इमाम रहेका छन्। कानुनी व्यवस्थाअनुसार एक जना आरोपितको वास्तविक नाम गोप्य राखी सांकेतिक नाम सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने एउटा सिक्री, चार थान मोबाइल फोन तथा घटनामा प्रयोग भएको स्कारपियो गाडी बरामद गरेको छ।

पाँचै जनालाई २०८३ साउन ११ गते रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले चोरी मुद्दामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सिक्री वास्तविक सुन भए–नभएको, त्यसको तौल र मूल्य सम्बन्धी परीक्षण हुन बाँकी रहेको छ। साथै पक्राउ परेकाहरू यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न थिए वा थिएनन् तथा गिरोहमा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय