जनकपुरधाम — पछिल्लो समय मधेश प्रदेशमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। प्रहरी तथ्यांक अनुसार महिलाको आत्महत्याको दर पुरुषको तुलनामा बढी रहेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका आठ जिल्लामा १,२५३ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ४७५ महिला, ४६७ पुरुष, ६५ बालक र २४६ बालिकासहित कुल ७२१ महिला/बालिका छन्। यसले महिलाको आत्महत्याको संख्या पुरुष र बालकसँग तुलना गर्दा करिब डेढ गुणा बढी भएको देखाउँछ।

गत वर्ष (आर्थिक वर्ष २०८०/८१) मा कुल १,२७८ जनाले आत्महत्या गरेका थिए। त्यस बेला पुरुष ५४०, महिला ४७०, बालक ६७ र बालिका २०१ थिए। त्यस वर्ष पुरुषको संख्या बढी भए पनि पछिल्लो वर्ष ट्रेन्ड उल्टो भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धान अनुसार बालिका र किशोरीहरूमा आत्महत्याको दर उच्च छ। प्रमुख कारणमा परीक्षामा असफलता, प्रेममा असफलता, घरायसी झगडा, हनी ट्र्यापमा पर्ने अवस्था, मोबाइल प्रयोगमा रोक, मोबाइल गेम नखेल्न दिँदा आएको आक्रोश, आर्थिक संकट र मानसिक तनाव रहेका छन्।

महिलाको आत्महत्याका कारणमा घरेलु हिंसा, दाइजो कम ल्याएको निहुँमा गरिएको कुटपिट, पतिले परस्त्रीसँग सम्बन्ध राखेको थाहा पाउनु, पति रोजगारीका लागि बाहिर हुँदा श्रीमतीले अन्य सम्बन्ध गाँस्ने विषयमा विवाद हुने जस्ता कारण रहेका छन्।

मनोचिकित्सक डा. रबिन झाका अनुसार आत्महत्याको नियन्त्रणका लागि तत्काल, मध्यम र दीर्घकालीन रणनीति आवश्यक छ। “संकटमा परेकालाई तुरुन्त सहयोग पुर्याउने २४ घण्टा सञ्चालन हुने हेल्पलाइन र आकस्मिक मनोपरामर्श केन्द्र स्थापना हुनुपर्छ,” उनले बताए।

अधिवक्ता रेखा झाका अनुसार बेरोजगारी र आर्थिक संकट कम गर्न सीपमूलक तालिम र रोजगारी कार्यक्रम सञ्चालन गर्नुपर्छ। साथै घरेलु हिंसा तथा लैंगिक हिंसामा परेकालाई कानुनी र आर्थिक सहयोग पुर्याउँदा आत्महत्या घटाउन मद्दत पुग्ने उनले बताए।

प्रहरीले मधेशमा धेरैले विष सेवन, झुण्डिएर वा अन्य तरिकाले आत्महत्याको बाटो रोज्ने गरेको तथ्य प्रस्तुत गरेको छ। यसले परिवारमा ठूलो बिचल्ली ल्याउने भएकाले आत्महत्या रोक्न सचेतना अभियान अनिवार्य रहेको प्रहरीले जनाएको छ। यसमा राज्यसँगै समाज, समुदाय र सामाजिक संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय