
बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चल्दा बुटवलका एक युवक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए।

गोली लागेर बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। गोली लाग्दा उनको दाहिने गालाको छाला च्यातिएको प्रहरीले जनाएको छ। उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।
प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरेको जनाएको छ।
घटनाको कारण तथा गोली प्रहारको विस्तृत विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।





