
काठमाडौं । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनीसँगै भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याई बिक्री वितरण गर्ने आरोपमा एक भारतीय महिलालाई समेत पक्राउ गरिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार भारतबाट खैरो हेरोइन ल्याई काठमाडौं उपत्यकालाई केन्द्र बनाएर बिक्री वितरण गर्ने गिरोहबारे गरिएको ‘क्रिमिनल प्रोफाइलिङ’ तथा विश्लेषणका क्रममा उनीहरू पक्राउ परेका हुन्।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले असोज १३ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–७, सतुङ्गलबाट लमजुङ बेँसीसहर नगरपालिका–२ का २७ वर्षीय विक्रम गुरुङलाई २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र नगद ७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।
गुरुङमाथि थप अनुसन्धान गर्ने क्रममा भारतको सिलिगुडीबाट काठमाडौं उपत्यकामा खैरो हेरोइन ल्याई बिक्री वितरण गर्ने आरोपमा भारत पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेललाई समेत असोज १४ गते चन्द्रागिरी नगरपालिका–१२ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
भुजेलको साथबाट १८२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। दुवैजनाबाट गरी प्रहरीले कुल २१० ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, ७ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरेको छ।
ब्यूरोका अनुसार विक्रम गुरुङ यसअघि पनि लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। उनलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले २०८१ माघ २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।
सो मुद्दामा उनी जगन्नाथदेवल कारागारमा थुनामा रहेका थिए। तर, जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको रेकर्डबाट खुलेको ब्यूरोले जनाएको छ।
पक्राउ परेका दुवैजनामाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





