नेपालगन्ज — बाँके प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै ८०८ ग्राम ब्राउनसुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइचका २१ वर्षीय रिजवान अहमद इदरीशी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफत खान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह रोठौरका अनुसार उनीहरूको साथबाट ८०८ ग्राम ब्राउनसुगर, भारतीय नम्बर प्लेट यूपी ३२ एफएच २६७९ भएको एउटा स्कुटर र दुई थान मोबाइल फोन बरामद गरिएको छ।

भारतबाट ब्राउनसुगर नेपाल भित्र्याई नेपालगन्ज हुँदै कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा बिक्री–वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।

सोही क्रममा नेपालगन्ज–२ स्थित होटल डायमन्ड प्यालेसमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय