जाजरकोट । ससुराको हत्या गरेको आरोपमा जाजरकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्लाको जुनिचाँदे गाउँपालिका–५ पाँगा निवासी ७५ वर्षीय गंगाराम शाहीको हत्या आरोपमा उनकी माइली बुहारी सर्मिला शाही पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार २०८२ साल साउन ११ गते साँझ करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढी नजिकै घाँटीको बायाँ भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले धारिलो हतियार हँसिया (खुर्पा) समेत बरामद गरेको थियो।

घटनाबारे अनुसन्धान गर्ने क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले २०८३ असोज ७ गते आफ्नी माइली बुहारी सर्मिला शाही घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा प्रहरीले पक्राउ अनुमति लिएर सर्मिलालाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पक्राउ परेकी सर्मिलालाई अड्डासार गरी २०८३ असोज ८ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला गरिएको थियो। सोही दिन जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारण तथा अन्य पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय