
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ स्थित आयल निगम क्षेत्रमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ।
शनिबार राति करिब १० बजे कोशी राजमार्गअन्तर्गत प्रहरी चौकी बरगाछीको टोलीले आकस्मिक चेकिङ गरिरहेको थियो। सो क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियो प्रहरी टोलीलाई देखेपछि यु–टर्न गरी भाग्न खोजेको थियो।

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि स्कार्पियो चालक गाडी छाडेर फरार भएका थिए।
त्यसपछि प्रहरीले स्कार्पियोको खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोका गाँजा फेला पारेको हो। बरामद गाँजाको तौल ३९८ किलो रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान तथा फरार चालकको खोजी गरिरहेको जनाएको छ।





