
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको छ। प्रहरीले १८ हजार ३०० क्याप्सुलसहित एक १९ वर्षीय युवकलाई पक्राउ गरेको हो।
वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई वडा कार्यालयनजिक चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्र.व.ना.नि. प्रकाशकुमार खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले बसको हुडतर्फ जाँच गर्ने क्रममा ‘CAT’ लेखिएका दुईवटा कालो क्यारी ब्याग फेला पारेको थियो। ती ब्यागभित्र Tramanil (Tramadol Hydrochloride Capsules) १८ हजार ३०० पिस फेला परेको प्रहरीले जनाएको छ।
घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–१६ बस्ने शिव पुजन राउत बरईका करिब १९ वर्षीय छोरा आनन्द चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामग्रीलाई रीतपूर्वक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बसलाई भने गन्तव्यतर्फ पठाइएको छ।
ठूलो परिमाणमा ट्रामाडोल बरामद भएपछि प्रहरीले यसको स्रोत, गन्तव्य तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका युवक भरिया मात्र हुन् वा यसको पछाडि संगठित ओसारपसारको सञ्जाल छ भन्ने विषय पनि अनुसन्धानको दायरामा आउने देखिएको छ।
विशेषगरी वीरगञ्ज–हेटौँडा–अमलेखगञ्ज हुँदै नारायणगढतर्फ जाने राजमार्गमा यात्रुवाहक बसमार्फत लागुऔषधजन्य पदार्थ ओसारपसार भइरहेको छ कि छैन भन्ने कोणबाट समेत अनुसन्धान आवश्यक देखिन्छ।
१८ हजार ३०० क्याप्सुलसहित एक युवक पक्राउ पर्नु प्रारम्भिक सफलता भए पनि यसको स्रोत, आपूर्तिकर्ता, वास्तविक मालिक र गन्तव्यसम्म प्रहरी पुग्न सके मात्रै अनुसन्धानले सार्थकता पाउनेछ।




