झापा । झापामा प्रहरीले २०.८३० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट खैरो हेरोइन खरिद तथा संकलन गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूलाई भदौ २२ गते झापाको मेचीनगर नगरपालिका–६ र कनकाई नगरपालिका–५ बाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय गोविन्द श्रेष्ठ, बिर्तामोड नगरपालिका–११ का ३० वर्षीय कृष्णबहादुर प्रधान र कनकाई नगरपालिका–४ का ३२ वर्षीय रोशन चौधरी रहेका छन्।

उनीहरूको साथबाट २०.८३० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल, नेपाली नगद २ हजार ६ सय रुपैयाँ र एक थान साइकल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

पक्राउ परेका श्रेष्ठ र प्रधानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनी, झापाको जिम्मा लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय