मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सुर्य भट्टको कमान्डमा खटिएको टोलीले भाबरस्थित भित्री सडकखण्डमा गएराति करिब २ः४५ बजे सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई जाँचका लागि रोक्न खोजिएको थियो। सो क्रममा पिकअप चालकले सवारीसाधन भगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

कारको सिटमा प्लास्टिकले बेरेर लुकाइराखिएको १३ वटा पोकाबाट १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्। महतो कार चालक हुन् भने दोङ पिकअप चालक रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप चालक दोङले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा, दुवै चालक तथा दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय