रुपन्देही, भदौ २२ — भारतबाट खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले रुपन्देहीबाट २५.९ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २२ वर्षीय राजेश कुमार तिवारी, २३ वर्षीय राजेश प्रसाद तेली र २५ वर्षीय कृपा शंकर उपाध्याय तथा वडा नम्बर ५ का २५ वर्षीय आजिजु राहमान मुसलमान रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २५.९०० ग्राम खैरो हेरोइन, लागू औषध ओसारपसारमा प्रयोग भएको भनिएका दुई थान मोटरसाइकल र पाँच थान मोबाइल बरामद गरेको जनाएको छ।

बरामद मोटरसाइकलमध्ये लु ३९ प ६२१० र लु १४ प ३७६५ नम्बरका रहेका छन्।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय