काठमाडौँ ।लागुऔषध नियन्त्रण ब्यरो पोखरा र वडा प्रहरी कार्यालय वैदामको संयुक्त टोलीले पोखराबाट भारी मात्रामा नियन्त्रित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यही भदौ १९ गते पोखरा महानगरपालिका–९, पृथ्वीचोकबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश, महाराजगञ्ज नौतनवा (वडा नं. १७) घर भएका २४ वर्षीय आलम परवेज र २१ वर्षीय हुसेन अन्सारी रहेका छन्।

१५ सय एम्पुल लागुऔषध र कार बरामद

प्रहरीले उनीहरूको कब्जाबाट डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगन गरी जम्मा १,५०० एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको छ। यसका साथै उनीहरूले प्रयोग गरेको UP 56 EC 5548 नम्बरको भारतीय सुजुकी कार र दुई थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय वैदाम, कास्कीमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय