काठमाण्डौ । रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवार टोलका वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार मन्थलीमा पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका आरोपीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार गत भदौ १८ गते राति करिब १२ बजे घरमा सुतिरहेका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङलाई नियन्त्रणमा लिएर लुटपाट गरिएको थियो। नकाब लगाएर आएका तीन जनाको समूहले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँधेर, मुख थुन्नुका साथै आँखामा पट्टी लगाइदिएका थिए। त्यसपछि ज्यान मार्ने धम्की दिँदै उनीहरूले लगाएका गहना र घरमा राखिएको नगद लुटेर समूह फरार भएको थियो।

घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार भक्तपुरका विभिन्न स्थानमा छापा मारी वारदातमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि डाँका/चोरी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय