
बझाङ — बझाङमा विभिन्न घरबाट नगद रकम, कुखुरा तथा खरायो चोरी गरेको आरोपमा चार जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका किशोरहरू १५ देखि १६ वर्ष उमेर समूहका छन्। उनीहरूमाथि बझाङको जयपृथ्वी नगरपालिका–३ क्षेत्रमा विभिन्न व्यक्तिको घर तथा खोरबाट नगद र पशुपक्षी चोरी गरेको आरोप लागेको छ।
प्रहरीले दिएको विवरणअनुसार मिना लामाको घरबाट रु. २० हजार ५०० र पार्वती मल्लको घरबाट रु. १० हजार चोरी भएको छ।
त्यस्तै, गोविन्द बोहराको घरबाट २० वटा कुखुरा र १० वटा खरायो, सुनिता वलीको घरबाट ३० वटा कुखुरा तथा गोपाल थापाको घरबाट ८ वटा कुखुरा र २ वटा खरायो चोरी भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नाबालक भएकाले उनीहरूको व्यक्तिगत पहिचान सार्वजनिक गरिएको छैन।




