पर्सा, २० भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित गाँजा ओसारपसारमा प्रयोग भएको कार र एक युवकलाई पक्राउ गरेको छ।

तिलावेपुलदेखि भिष्वा जाने सडकखण्डअन्तर्गत पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट संयुक्त रूपमा खटिएको टोलीले तिलावेपुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कार रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारको डिकीभित्र १२ वटा पोकामा लुकाएर राखिएको अवस्थामा ११४ किलो २५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले गाँजा र कार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले पछिल्लो समय पर्साका विभिन्न सीमा क्षेत्र तथा ग्रामीण सडकमार्फत हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडाइ गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय