
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीले अपराध अनुसन्धान, मुद्दा व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध नियन्त्रणमा उल्लेख्य प्रगति गरेको जनाएको छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत विभिन्न प्रकारका लागूऔषधसहित २२ जना पक्राउ परेका थिए। उनीहरूबाट ब्राउन सुगर १२३ ग्राम ५६ मिलिग्राम, २५ हजार ६७६ थान गोटी, गाँजा २ किलो २८० ग्राम, कोरेक्स ५ लिटर र चरेस २ ग्राम ३० मिलिग्राम बरामद गरिएको थियो।

प्रहरीको विवरणअनुसार लागूऔषधसम्बन्धी घटनामा पक्राउ परेकामध्ये १० जना पुर्पक्षका लागि थुनामा, १२ जना धरौटीमा छुटेका तथा २८ जनालाई सुधारगृह पठाइएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ मा लागूऔषधसम्बन्धी पक्राउ तथा मुद्दा दर्ताको संख्या नरहे पनि एक जनालाई सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, चालु आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न प्रकृतिका २८८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १४४ वटा मुद्दा फर्छ्यौट भएका छन् भने १४४ वटा मुद्दा बाँकी रहेको प्रहरीको प्रगति विवरणमा उल्लेख छ।
दर्ता भएका मुद्दामा १२४ जना प्रतिवादी पक्राउ परेका छन् भने १३ जना फरार रहेका छन्।
अपराध अनुसन्धान तथा मुद्दा व्यवस्थापनतर्फ चालु आर्थिक वर्षमा मात्रै २२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ३ वटा फर्छ्यौट भएका छन् भने १९ वटा मुद्दा बाँकी छन्। उक्त मुद्दामा ५ जना प्रतिवादी पक्राउ परेका छन् भने १० जना फरार रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ३ जना धरौटीमा छुटेका छन्।
प्रहरी कार्यालयले अपराध नियन्त्रण, अनुसन्धान, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।




