काठमाडौं । थाइल्यान्डबाट हुलाकमार्फत नेपाल पठाइएको पार्सलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि चार जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाइएको पार्सल शंकास्पद लागेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएको ब्यूरोले जनाएको छ।

पार्सल रिसिभ गर्ने मुख्य व्यक्तिसम्म पुग्न प्रहरीले नियन्त्रणमा राखी पार्सल पठाउने (Control Delivery) विधि अपनाएको थियो। सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका दुई महिलालाई पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ की २५ वर्षीया तारा मगर रहेका छन्।

उनीहरूको धरान–१५, मिलनपथस्थित डेरामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको ब्यूरोले जनाएको छ। यससँगै बरामद लागूऔषधको कुल परिमाण १ किलो ९१० ग्राम पुगेको छ।

यसैबीच, उक्त गाँजा रिसिभ गर्न आएका दुई भारतीय नागरिकलाई समेत भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको केरल, कन्नोरका २४ वर्षीय सरोन सुनिल तिया र केरल, आलपुरका २२ वर्षीय अमल आर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट चार थान मोबाइलसमेत बरामद भएको छ। पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरान र लागू औषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।

लागू औषध नियन्त्रण ब्यूरोले भदौ १९ गते जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय