काठमाडौं । फेक टिकटक अकाउन्ट बनाएर ठगी गरेको आरोपमा फरार रहेका एक युवकलाई लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित पक्राउ गरेको छ।

ब्यूरोको टोलीले भदौ १५ गते ललितपुरको महालक्ष्मी नगरपालिका–६, चाङ्गाथलीस्थित डेराबाट महोत्तरी गौशाला नगरपालिका–१ का २३ वर्षीय रोशन साहलाई पक्राउ गरेको हो। उनको साथबाट १७.२२० ग्राम खैरो हेरोइन, डिजिटल तराजु, नगद ३० हजार रुपैयाँ र मोबाइल फोन बरामद गरिएको ब्यूरोले जनाएको छ। 

प्रहरीका अनुसार साह यसअघि ठगीसम्बन्धी कसुरमा पक्राउ परी धनुषा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका थिए। उच्च अदालतको आदेशपछि ६ लाख रुपैयाँ धरौटीमा छुटेका उनी पुनः ठगी गतिविधिमा संलग्न भएको खुलेको छ।

जेलबाट छुटेपछि साहले ‘CERTIFIED EV SELLER’ नामको फेक टिकटक अकाउन्ट बनाएर विद्युतीय स्कुटर बिक्री गर्ने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।

उक्त ठगीसम्बन्धी घटनाको अनुसन्धान ब्यूरोको अपराध अनुसन्धान कार्यालय टेकुबाट भइरहेको जनाइएको छ। पीडित व्यक्तिहरूलाई थप जानकारी तथा उजुरीका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय