पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालबाट अपहरणमा परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीले घटनाको सूचना पाएपछि करिब १६ घण्टाभित्रै शिशुको उद्धार गर्न सफल भएको हो।

भदौ १४ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पतालबाट शिशु हराएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले खोजी तथा अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शिशुलाई अस्पतालको सुत्केरी कुरुवा कक्षबाट आफन्तसँग खेलाउने भन्दै एक महिलाले बाहिर लगेकी थिइन्। त्यसपछि शिशुलाई आफ्नो घरमा लगेर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको सूचना प्राप्त भएपछि प्रहरीले सीमावर्ती नाकामा निगरानी बढाउनुका साथै अस्पताल परिसरभित्र र बाहिर रहेका सीसीटीभी फुटेजको अध्ययन तथा विश्लेषण थालेको थियो।

प्रहरीको अनुसन्धानका क्रममा वीरगञ्ज महानगरपालिका–१६ बस्ने २७ वर्षीया सबिना खातुनको संलग्नता खुलेपछि उनको कोठामा खोजी गरिएको थियो। सोमबार दिउँसो करिब १ बजे प्रहरी उपरीक्षक भट्टराईको नेतृत्वमा खटिएको टोलीले खातुनको कोठाबाट नवजात शिशुको सकुशल उद्धार गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

उद्धारपछि शिशुलाई सर्लाहीकी २७ वर्षीया आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा खातुनले शिशुलाई आफ्नै बनाउने उद्देश्यले अस्पतालबाट लगेको हुनसक्ने देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय