
उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन जंगल क्षेत्रमा खोजतलास गरेको थियो। त्यस क्रममा ५२ वटा बोरामा राखिएको अवस्थामा १ हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा फेला परेको हो।

गाँजा ओसारपसारमा प्रयोग भएको भनिएको बा १६ च ५२६९ नम्बरको बोलेरो समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।
प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।




