
सिराहा । सिराहामा सशस्त्र प्रहरीले मोटरसाइकलमा सवार दुई जनालाई शङ्कास्पद काँचो मासुसहित पक्राउ गरेको छ।

औरही गाउँपालिका–५ स्थित गागन खोलामा चेकजाँच गर्ने क्रममा मधेस प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा करिब ४ किलो शङ्कास्पद मासु फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा स्थानीय मुस्लिम टोलका २५ वर्षीय मोहतर अलि र २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्।
प्रहरीका अनुसार बरामद मासु प्रारम्भिक रूपमा गाईको जस्तो देखिएको छ। उक्त मासु भारतबाट ल्याइएको हुनसक्ने आशंका गरिए पनि यसको वास्तविक स्रोत र कुन जनावरको मासु हो भन्ने विषय परीक्षणपछि मात्रै पुष्टि हुने जनाइएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहाको नियन्त्रणमा राखिएको छ। बरामद मासुको परीक्षण तथा घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिए।




