
काठमाडौं । शङ्खमुलस्थित एक होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारको घटनामा २२ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का वसन्त कालाथोकी शुक्रबार बिहान भ्याली ब्वाइज होस्टलमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि अन्य पाँच जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोप लागेका प्रमित पटेल भने फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ।




