
कास्की । लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले पोखराबाट लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८३ भदौ ४ गते राति करिब ९ः४५ बजे पोखरा महानगरपालिका–१८ अधेरीकुनामा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुप छत्कुलीको घरकोठामा खानतलासी गरेको थियो।

सो क्रममा ४० वर्षीय छत्कुलीले झोलाभित्र लुकाइछिपाई राखेको Tapentadol (100 mg) लेखिएको ११ हजार ७६८ चक्की बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले छत्कुलीलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार छत्कुली यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका व्यक्ति हुन्। उनी २०७१ पुस ९ गते वडा प्रहरी कार्यालय बैदामबाट केही सार्वजनिक अपराधसम्बन्धी कसुरमा पक्राउ परेका थिए भने २०८१ माघ १३ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परेका थिए।
त्यसैगरी, वडा प्रहरी कार्यालय बैदाममा दर्ता भएका लागूऔषधसम्बन्धी दुईवटा कसुरमा उनी फरार रहेको तथ्यसमेत प्रहरीको अपराध अभिलेख प्रणाली (CRS) बाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




