
गोरखा । गोरखामा सामाजिक सञ्जाल फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जनासहित बिना इजाजतपत्र भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भीमसेनथापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।
प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक खातामार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा प्रहरीले खोजी गर्ने क्रममा उनलाई एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको थियो।
प्रेममाथि अनुसन्धान गर्ने क्रममा बरामद भएको हतियार पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





