बारा । जितपुर–सिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि यौन दुर्व्यवहारपछि हत्या भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ।

साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट बेपत्ता भएकी गरिमा मंगलबार साँझ जितपुर–सिमरा–१, भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको नेतृत्वमा थप अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार जितपुर–सिमरा–२ का १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलतर्फ लगेको र त्यसपछि बालिकामाथि यौन दुर्व्यवहार गरी हत्या गरेको आशंका गरिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा थापासहित ना.१ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुर–सिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। थापा उक्त म्याजिकका सहचालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको, मृत्युको वास्तविक कारण तथा घटनाको विस्तृत विवरण खुलाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। पोस्टमार्टम तथा फरेन्सिक परीक्षणको रिपोर्टबाट घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीमा त्रास र आक्रोश देखिएको छ। स्थानीयले घटनामा दोषी पाइएकामाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय