
धनगढी । कैलालीको बर्दगोरियामा छातीमा गोली लागेको अवस्थामा एक पुरुष मृत फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–३ खैरेनीका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मंगलबार साँझ मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार विश्वकर्मा स्थानीय लालीगुराँस सामुदायिक वनमा करिब साढे ८ बजे मृत भेटिएका थिए। घटनास्थलमा एउटा भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार विश्वकर्माको देब्रे हात तथा छातीको आसपास गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ तथा घटनास्थलमा भेटिएका प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
बौनियाका प्रहरी प्रमुख डम्बर विष्टका अनुसार विश्वकर्मा सिकार खेल्न जंगल गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि उनलाई गोली कसरी लाग्यो र मृत्युको वास्तविक कारण के हो भन्ने विषय अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
घटनास्थलबाट बरामद भरुवा बन्दुकलाई समेत प्रहरीले अनुसन्धानका क्रममा परीक्षण तथा आवश्यक जाँचका लागि नियन्त्रणमा राखेको छ।




