काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३९ किलो २८८ ग्राम उच्च स्तरको (High THC) थाई गाँजासहित ८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार विदेशबाट हवाई मार्ग हुँदै नेपाल भित्र्याइने उच्चस्तरीय गाँजाको तस्करीसम्बन्धी प्रोफाइलिङका क्रममा शंकास्पद यात्रुलाई निगरानी तथा चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले २०८३ साउन ३१ गते राति बैंककबाट आएको थाई एयरवेजको उडान नम्बर TG319 र फुकेटबाट आएको Batik Airways को उडान नम्बर OD541 बाट नेपाल आएका यात्रुहरूको लगेज जाँच गर्दा गाँजा बरामद गरेको हो।

थाई एयरवेजको उडान TG319 बाट आएका म्यानमारका पाँच जना नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय ZAR NI LIN, २६ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG BWAR, ३२ वर्षीया CHUE MYATHWAL SHIN र ३२ वर्षीय ZIN MYO AUNG रहेका छन्।

त्यस्तै, Batik Airways को उडान OD541 बाट आएका भारत पञ्जाबका तीन जना नागरिक पक्राउ परेका छन्। उनीहरूमा २३ वर्षीय KHUSHDEEP, ३२ वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३९ किलो २८८ ग्राम थाई गाँजा, ८ थान पासपोर्ट र ८ थान मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका आठै जनामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय