
काठमाडौं । काठमाडौंमा घरको कोठा फुटाई गरगहना, नगद तथा विभिन्न धनमाल चोरी गर्ने गिरोहका चार जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१६ टौडोलस्थित एक घरबाट गत मंगलबार दिउँसो करिब साढे ३ बजे चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त बालाजुको टोलीले शुक्रबार चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३१ जेशीदेवल बस्ने २५ वर्षीय सुमन थापा मगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई मनमैजु बस्ने २३ वर्षीय दीपक भन्ने दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका–५ बस्ने ५१ वर्षीय धनबहादुर सुनार र सोही ठेगाना भई मनमैजु बस्ने ३५ वर्षीय सुकबहादुर गुरुङ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट चोरीका विभिन्न सामग्री बरामद गरिएको छ। बरामद सामग्रीमा सुनका मुन्द्रा दुई थान, झुम्का दुई थान, औंठी दुई थान, चाँदीका पाउजु दुई जोर, सुनका गहनाका टुक्रा ३१ थान, ल्यापटप तीन थान, मोबाइल सेट नौ थान, घडी पाँच थान र क्यामरा तीन थान रहेका छन्।
त्यस्तै, तामाको मूर्ति एक थान र नगद ७५ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूबाट बरामद सामग्रीका आधारमा अन्य चोरीका घटनामा समेत संलग्नता भए/नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।




