
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल प्रविधिको विस्तारसँगै साइबर अपराधका घटना पनि तीव्र रूपमा बढिरहेका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या, अकाउन्ट ह्याक, ब्ल्याकमेलिङ, अनलाइन ठगीदेखि डिजिटल माध्यमबाट बैंक तथा वालेटमा पहुँच पुर्याउनेसम्मका अपराध प्रहरीका लागि चुनौती बन्दै गएका छन्।
यसको पछिल्लो उदाहरण हुन् नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल। इमेलमार्फत अश्लील सन्देश पठाएर महिलाको चरित्र हत्या गरेको आरोपमा उनी गत असार २६ गते पक्राउ परे। त्यस्तै, फेसबुक ह्याक गरी अनधिकृत पहुँचमार्फत ठगी गरेको आरोपमा नुवाकोटकै १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे। इसेवाको कर्मचारी बनेर ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम साहलाई प्रहरीले असार २ गते नियन्त्रणमा लिएको थियो।

यी घटना साइबर अपराधको बढ्दो स्वरूपका प्रतिनिधि उदाहरण मात्र हुन्। प्रहरीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेलिङ, ठगी, अनलाइन स्क्यामिङ तथा डिजिटल प्रणालीमा अनधिकृत प्रवेश गर्ने क्रम बढ्दो छ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका छन्। सो अवधिमा १६१ वटा मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका छन्।
दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै फेसबुक तथा म्यासेन्जर दुरुपयोगसम्बन्धी छन्। फेसबुक/म्यासेन्जरका ७ हजार १२३, टिकटकका ६ हजार ७७६, ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१, इन्स्टाग्रामका ६२८ र इमेलसम्बन्धी ११४ वटा उजुरी परेका छन्।
त्यस्तै, इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४, संस्थासम्बन्धी ८४६, युट्युबका ६४, इमोका ३८, भाइबरका २१, वीच्याटका १४ तथा ट्वीटर र गुगलका ११/११ वटा उजुरी दर्ता भएका छन्।
साइबर अपराधसम्बन्धी उजुरीको संख्या अघिल्ला वर्षको तुलनामा पनि उल्लेख्य छ। आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र २०८०/८१ मा १९ हजार ७३० वटा उजुरी दर्ता भएका थिए।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रविधिको पहुँच विस्तारसँगै त्यसको दुरुपयोग गर्ने प्रवृत्ति पनि बढिरहेको छ। पछिल्ला वर्षहरूमा बैंक तथा वालेटका कर्मचारी बनेर खातामा पहुँच पुर्याउने, गिफ्ट, लटरी तथा पार्सल आएको भन्दै रकम असुल्ने ठगीका घटना बढेका छन्।
त्यसैगरी प्रेम सम्बन्धको बहानामा आर्थिक ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाउने, टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममार्फत अनलाइन जागिरको नाममा रकम माग्ने र अनलाइन सपिङको बहानामा ठगी गर्ने प्रवृत्ति पनि बढिरहेको ब्यूरोले जनाएको छ।
प्रविधिको विकाससँगै अपराधका शैली पनि निरन्तर परिवर्तन भइरहेकाले यसको अनुसन्धान प्रहरीका लागि थप चुनौतीपूर्ण बन्दै गएको छ। प्रविधिको प्रयोगबाट हुने अपराधको रोकथाम तथा प्रभावकारी अनुसन्धानका लागि नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको हो।
साइबर अपराधमा संलग्न व्यक्तिमाथि प्रचलित विद्युतीय कारोबार ऐन, २०६३ लगायतका कानुनी व्यवस्थाअनुसार कारबाही हुने गरेको प्रहरीले जनाएको छ। बढ्दो डिजिटल पहुँचसँगै नागरिक स्वयं पनि आफ्नो सामाजिक सञ्जाल, बैंक खाता, ओटीपी, पासवर्ड तथा व्यक्तिगत विवरणको सुरक्षामा थप सचेत हुनुपर्ने देखिएको छ।




