वीरगञ्ज — पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगर क्षेत्रबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा गुडिरहेका दुईवटा मोटरसाइकललाई रोकेर खानतलासी गर्दा उक्त अवैध रकम फेला पारेको हो।
प्रहरीले घटनामा प्रयोग भएका प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। यसरी अवैध रकमसहित पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ तथा पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले विभिन्न दरका नेपाली नोटहरू बरामद गरेको छ। बरामद गरिएको कुल साढे ५२ लाख रकममा एक हजार दरका ४ हजार ५ थान, पाँच सय दरका २ हजार ३ सय ५३ थान, एक सय दरका ६ सय ४३ थान र पचास दरका ८४ थान नोट रहेका छन्। पक्राउ परेका चारै जनामाथि रकमको स्रोत र उनीहरूको गतिविधिको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय