सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको कार र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बुधबार बराहक्षेत्र नगरपालिका–१ गुप्तबराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको गाँजा बरामद भएको थियो। प्लास्टिकसहित ४२०.०१ किलो तौल भए पनि प्लास्टिक हटाउँदा ४१८ किलो गाँजा रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कार चालक धरान–१३ का ३४ वर्षीय विकास भन्ने थमन राई, कारमा सवार ओखलढुंगाका २२ वर्षीया जिवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार ३८ वर्षीय शंकर चौधरी छन्।

चारै जनालाई गाँजा र सवारीसाधनसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय