सुनसरी । चतरा–बराहक्षेत्र सडक खण्डबाट ठूलो परिमाणको अवैध गाँजासहित चार जना प्रहरीको फन्दामा परेका छन्। बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेका दुईवटा सवारी साधनलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएर जाँच गर्दा ४१८ किलो (चार क्विन्टल १८ किलो) गाँजा बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार प्रहरी टोलीले खानतलासी गर्दा कार र मोटरसाइकलमा २२ वटा पोकामा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको गाँजा भेटिएको थियो।
प्रहरीले अवैध गाँजा ओसारपसारमा संलग्न कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र कारमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राईलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै, गाँजा तस्करीमै संलग्न मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शङ्कर चौधरीलाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेका सबै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय